भाद्र ५, २०७४- यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रयोगात्मक परीक्षार्थीका लागि गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट दस्तुर/शुल्क असुल गर्ने काम नगराउन मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेपछि यस्तो व्यवस्था गरिएको हो ।
यसअघि ‘श्रीभेइकल सोलुसन एन्ड रिसर्च सेन्टर’ ले विभागसँग सम्झौता गरी प्रयोगात्मक परीक्षामा गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट शुल्क लिँदै आएको थियो । यसरी शुल्क लिनु अवैधानिक भन्दै दीपक पराजुलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई विपक्षी बनाई रिट दायर गरेका थिए । ‘सम्मानित अदालतको आदेशअनुसार हामी परीक्षार्थीलाई नि:शुल्क गाडी उपलब्ध गराउँछौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने, ‘यो अन्तरिम आदेश हो, जब पूर्ण फैसला हुन्छ, त्यसपछि विकल्प खोज्नुपर्छ ।’
सेन्टरले ३ वर्षअघि प्रयोगात्मक परीक्षाका लागि यातायात व्यवस्था विभागलाई गाडी उपलब्ध गराउने सम्झौता गरेको थियो । विभाग र सेन्टरबीच २०६९/१२/२२ मा भएको सम्झौताको म्याद २०७३/१२/२२ मा सकिएको थियो । २०७३/१२/२५ मा पुन: ६ महिनाका लागि साविकै दरमा सेवा दिने सम्झौता भएको थियो । यसअघि पनि सर्वोच्चकै न्यायाधीश भरतबहादुर कार्कीको एकल इजलासले उक्त सम्झौता तत्काल कार्यान्वयन नगर्न भन्दै मन्त्रालयका नाममा आदेश जारी गरेको थियो ।
त्यसपछि न्यायाधीश कल्याण श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको संयुक्त इजलासले सवारी चालक अनुमतिपत्र वितरणका लागि सञ्चालन गरिने प्रयोगात्मक परीक्षा व्यवस्थित गर्न निर्देशिकाअनुसार नै देखिएकाले सर्वसाधारणको ‘सुविधा र हितको सन्तुलनको दृष्टि’ ले अन्तरिम आदेश दिन नमिल्ने भन्दै न्यायाधीश कार्कीको आदेश खारेज गरिदिएको थियो ।
त्यसयता सेन्टरले यातायात व्यवस्था विभागलाई प्रयोगात्मक परीक्षाका लागि १० वटा अल्ट्रो कार, १० वटा मोटरसाइकल र १० वटा स्कुटी उपलब्ध गराउने सम्झौता गरेको थियो । विभागले मीनभवन, बग्गीखाना, भक्तपुर, सुकेधारा र सानोभर्याङमा प्रयोगात्मक परीक्षाका लागि गाडी उपलब्ध गराउँदै आएको छ । विभागका अनुसार दैनिक २ हजार परीक्षार्थीले सवारी अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा दिन्छन् । सेन्टर सञ्चालकसँग नि:शुल्क गाडी उपलब्ध गराउने मौखिक सहमतिसमेत भइसकेको महानिर्देशक भट्टराईले बताए ।
‘अर्को विकल्प नभएसम्म श्रीभेइकल सोलुसन एन्ड रिसर्च सेन्टरले नि:शुल्क गाडी दिन्छ,’ उनले भने, ‘त्यसबारे छलफल भइसकेको छ ।’ सेन्टरलाई हरेक परीक्षार्थीले मोटरसाइकलको ४७ रुपैयाँ, स्कुटरको ४६ रुपैयाँ, कारको ९३ रुपैयाँ, जिपको १२३ रुपैयाँ, भ्यानको १२२ रुपैयाँ, टेम्पोको १६३ रुपैयाँ, मिनीबसको २०९ र बसको २११ रुपैयाँ हरेक परीक्षार्थीले दस्तुर बुझाउनुपर्ने सेन्टर र विभागबीचको सम्झौतामा उल्लेख छ ।

No comments:
Post a Comment