ad1

Thursday, August 17, 2017

त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्कर खड्काटोलमा पहिरो


भाद्र २, २०७४- जिल्लाको दुर्गम भेग त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्करको खड्काटोलमा पहिरो जाँदा तीन परिवार विस्थापीत भएका छन् । अविरल वर्षाको कारण बेलुकी दुई बजे झरेको पहिरोले बस्ती नै जोखिममा परेको हो । 

‘रातको दुईबजे अचानक झर्‍यो, धन्न बेलैमा भागेर बाँच्न सक्यौं,’ पिस्करका टेकबहादुर खड्काले भने, ‘ज्यान जोगाइयो, तर घरसम्पत्ती सबकुछ पहिरोले पुर्‍यो, अब कसरी बाच्ने हो ?’ उनको नौ लाख बराबरको पसलदेखि बाख्रा, कुखुरा पहिरोले पुरेको छ । 

‘नयाँ बनाएको भूकम्पप्रतिरोधी घरसहित जमिन सबै बगायो, परिवारको बिल्लीबाठ भयो,’ लोकबहादुर खड्काले दुखेसो पोखे, ‘दैवको लिला कस्तो हो, अब कसरी बाच्ने हो थाहा छैन ।’   

विकट पिस्करका थामीटोल, मुलाटोल ,खड्काटोल लगायतका स्थान पहिरोको जोखिममा परेका छन् । रातको दुई बजे पहिरो झरेर पुरेपछि प्रहरीले उद्धारकार्य थालेको थियो । ‘माथिल्लो भेगका जमिन पुरा भास्सिएर झरेको पहिरोले हाम्रो लाखौको क्षति गरेको छ,’ पृथ्वीजंग पाण्डेले भने, ‘खेतीयोग्य जमिनदेखि बल्लतल्ल ऋण गरेर बनाएको टहरा बगायो, अब कहाँ जाने हो ।’

पिस्करमा विपन्न वर्गका कृषकको आयस्रोत र घर समेत पुरेपछि बिचल्ली भएको पाण्डेले सुनाए । कुखुराफर्मका चारसय कुखुरा, सय भन्दा बढी पशु , तीन वटा घर देखि खड्काटोलको पुरा भू-भाग भास्सिएको छ । पाण्डेकाअनुसार पिस्करको माथिल्लो भाग पहिरोले फाटेको छ । 

‘भविष्यमा माथिल्ला चर्किएका जमिनले ठूलो पहिरोले जोखिम बढाउन सक्छ,’ धाँजा धाँजा फाटेको बताउदैँ पाण्डेले भने,‘  मानिविय क्षति त भएन्, अन्य दर्जनौं स्थानमा पहिरोको उच्च जोखिम छ ।’

जोखिम मोल्दै विद्यालय 
त्रिपुरासुन्दरी गाउँपालिका पिस्कर खड्काटोलका बालबालिका दैनिक जोखिम मोलेर विद्यालयमा अध्ययन गर्छन् । पिस्करस्थित पिस्कर माध्यमिक विद्यालय रहेको स्थानको तल्लो भाग पहिरोले तान्दै लगेको छ । त्यस्तै सेतीदेवी आधारभूत विद्यालय पहिरोको जोखिममा परेको छ ।

दैनिक पहिरोको जोखिम मोलेर तीन घण्टा हिँडेर विद्यालय पुगेका बालबालिका कक्षामा अध्ययन गर्दा समेत पहिरोको जोखिममा हुन्छन् । ‘कक्षामा ध्यान लाग्दैन्, दिनभर पहिरो हेर्दै आउँछौ, स्कुल नै पहिरोमा छ ,’ सुशीला थामीले भनिन्,‘ झ्यालबाट पहिरो खसेको हेर्दै, पढ्दै गर्छौं ।’

No comments:

Post a Comment