ad1

Friday, August 18, 2017

विस्थापित भन्छन्–‘फर्केर कहाँ बस्नु ?’



भाद्र २, २०७४- झापा गाउँपालिकाका बाढी विस्थापितहरु मानसिक तनावमा परेका छन् । गत शुक्रबार मध्यरातमा ज्यान जोगाएर भागेकाहरु अब, कहाँ गएर बस्ने भन्ने पिरलोमा छन् ।

‘घर र घरभित्रका सबै सामान बग्यो । हामीलाई त ज्यान जोगाएर भाग्दै ठिक्क भयो’ वडा नं. ३ का डिल्लीराम हेमरमले भने,‘तीन जना छोराछोरीसहित अब कहाँ गएर बस्नु ।’ स्थानीय त्रिभुवन आधारभूत विद्यालयमा आश्रय लिएर बसेका उनले बस्ने ठाउँको टुंगो नहुँदा मानसिक तनाव थपिएको बताए । ‘दुख परेको बेला जे खाएर नि बाचौंला’ उनले भने,‘तर, ओतलाग्ने ठाउँ नहुँदा यो बर्खाको बेला कहाँ गएर बस्नु ।’
अविरल बर्षाले उक्त गाउँपालिकाको ४ नम्बर वडाबाहेक सबै वडा डुबानमा परेको थियो । जिल्लाका दुई ठूला नदीहरु कनकाई र बिरिङको बाढीले उक्त गाउँपालिकामा जिल्लामै धेरै जनधनको क्षति पुग्यो । बाढीमा परि गाउँपालिकाका ६ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् । करिब एक हजार ५ सय बिघा धान खेत बगरमा परिणत भएको छ ।

वडा ३ कै राजु भुजेलले पनि तत्काल पुरानै ठाउँमा फर्किन सक्ने अवस्था नरहेको बताए । कनकाईको बाढीले उनको पनि घर बगाएको छ । ‘के छ र त्यहाँ जानु, सबै बगिगो । ज्यान जोगाएर आएका छौं । फेरि त्यही गएर बस्ने हो भने अर्को पटकको बाढीले हामीलाई पनि बगाउछ’ भुजेलले भने ।

स्थानीय मिलनकुमार भुजेलले आफूहरुका लागि सरकारले व्यवस्थित बसोबासको व्यवस्था गरिदिनुपर्ने माग राखे । ‘यहाँ सरकारले व्यवस्थित आवासको व्यवस्था गर्नुपर्छ । बर्षौदेखि बाढीपीडित हुँदै आएका हामीले अझै कतिबर्षसम्म ज्यान गुमाउनु ?’ भुजेलले भने ।

‘मध्यरातमा रुँदै कराउँदै दुई जना छोरालाई लिएर बल्लबल्ल घरबाट निस्किए’ वडा २ सडकबारीकी जलिना खातुनले भनिन,‘बाहिर निस्किएको दुई मिनेट पनि भएको थिएन, घर भत्कियो ।’ उनले घरसँगै सबै सामान बाढीले बगाएको बताइन । ‘कति दुख गरेर चार कोठे पक्कि घर बनाएका थियौं । श्रीमान त्यही घरको ऋण तिर्न अहिले पनि विदेशमै हुनुहुन्छ’ भक्कानिदै खातुनले भनिन । घर भत्किएपछि फेरि त्यही ठाउँमा गएर बस्न सक्ने अवस्था नरहेको उनले बताइन ।

बाढी गएको एक साता बितिसक्दासमेत बाढीपीडित घर फर्कन डराइरहेका छन् । उनीहरु अझैसम्म स्थानीय विद्यालयमै आश्रय लिएर बसिरहेका छन् । ‘घर गएर बस्न सबै डराइरहेका छन्’ स्थानीय दिलीप सुवेदीले भने,‘यस पटकको बाढीले सबैको सातो लगेको छ ।’ गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले वडा ३ र ७ मा पर्ने सिमलबारीका करिब एक सय परिवारलाई अझै स्थानीय विद्यालयमै राख्नु परेको बताए ।

अन्यत्रका बाढीपीडितलाई घर फर्काउने काम भइरहेको उनले बताए । ‘सिमलबारीकालाई घर जाऊ भनेर भन्न सकिरहेका छैनौं । उनीहरु फर्किएर बस्न सक्ने अवस्था छैन । धेरैको घर छैन । भएकाहरुको पनि बस्न सक्ने अवस्था छैन’ अध्यक्ष शाहले बताए । उनले भने,‘बालुवाटार, सडकबारी, कुवाडीलगायतका गाउँका पीडितहरुको अवस्था पनि यस्तै हो । सधैं स्कुलमा राख्न सकिदैन । यसैले उनीहरुलाई सम्झाईबुझाई गरेर पुरानै ठाउँमा पठाएका छौं ।’

शाहले व्यवस्थित बसोबासका लागि गाउँपालिकाभित्र सरकार जमिनको खोजी कार्य सुरु गरिएको बताए । ‘खोला किनारका केही परिवारलाई अन्यत्र सार्नैपर्ने अवस्था छ । हामी सरकारी जमिन खोजीरहेका छौं । जमिनको व्यवस्थापन भयो भने व्यवस्थित आवासको व्यवस्था गर्नुको विकल्प छैन’ उनले भने । उनले बाढीपीडितहरुलाई धेरै दिनसम्म अस्थायी शिविरमा राख्न विभिनन समस्या थपिएको बताए । उनले उनीहरुको दैनिकका खानाखाजा, स्वास्थ्य उपचारसहित धेरै दिनसम्म राख्दा विद्यालयको पठनपाठनमा असर पुगेको बताए ।

No comments:

Post a Comment