अमेरिकाले केही बिन्दुमा वार्ता चाहेको उल्लेख गर्दै उनले भने, ‘हामी तपाईंका शत्रु होइनौं।’ टिलरसनले भने, ‘हामीले शासन परिवर्तन गर्न खोजेका होइनौं, वर्तमान शासन अन्त्य गर्न खोजेका होइनौं, प्रायद्वीपको द्रुत पुन: एकीकरण खोजेका पनि होइनौं, हामी त्यहाँ आफ्नो सेना पठाउने कुनै बहाना चाहँदैनौं।’
उत्तर कोरिया अमेरिकाको शत्रु नभएको र उत्तरका लागि अमेरिका खतरा नभएको उल्लेख गर्दै टिलरसनले भने, ‘तर तपाईंहरू हाम्रा लागि खतरा हुने तरिकाले प्रस्तुत भइरहनुभएको छ र हामीले त्यसको जवाफ दिनुपर्छ।’ उत्तर कोरियाले गत शुक्रबार दोस्रोपटक लामो दूरीको अन्तर महाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। उक्त क्षेप्यास्त्र अमेरिकी पश्चिमी तटीय क्षेत्रसम्म मार हान्न सक्ने क्षमताको रहेको उत्तरको दाबी छ। रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिए उत्तर कोरियासँग युद्ध हुने कुरा आफूलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएको दाबी गरेका छन्।
चीनलाई आरोप लगाइएको होइन’
यसैबीच, उत्तर कोरियाको विषयमा आफूलाई नजोड्न चीनले आग्रह गरेको दुई दिनपछि अमेरिकाले पनि यस विषयमा चीनलाई कुनै आरोप नलगाइएको स्पष्ट पारेको छ। उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयसँग जोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा चासो नदिएको बताएका थिए। उनले उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरिरहँदा पनि चीनले कारबाहीका लागि कुनै पहल नगरेको आरोप लगाएका थिए।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटरमा उत्तर कोरियाको आतंकका बारेमा चीनले चासो नदिएको र संसारलाई अप्ठेरो पार्ने अवस्था आउँदा पनि शान्ति र नि:शस्त्रीकरणका लागि नबोलेको उल्लेख गरेका थिए। टिलरसनले ट्रम्पको भनाइको बचाउ गर्दै अमेरिकाले चीनलाई दोष दिएको नभई उत्तर कोरियाको यस कार्यविरुद्धमा लड्न चीनको साथ चाहिने कुरा मात्र अमेरिकाले गरेको बताएका छन्। टिलरसन यसै साताको अन्त्यमा एसिया भ्रमणमा निस्कँदै छन्।

No comments:
Post a Comment