विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘भारतले हालै डोक्लाममा सेनाको संख्या बढाउने, आवश्यक सैनिक सामग्री थप गर्ने र सडक मर्मत गर्ने कार्य गरेको छ । यो निश्चय नै शान्तिका लागि होइन ।’ चिनियाँ रक्षा मन्त्रालयले हालसम्म चीनले भारतसँग सद्भाव कायम राखेको बताएको छ । उसले समस्या समाधानको पूर्वसर्त नै सेना फिर्ता भएको दोहोर्याएको छ । उसले चिनियाँ सेनाको ताकतलाई नजरअन्दाज नगर्न चेतावनी दिएको छ । रक्षा मन्त्रालयले चिनियाँ सेनाले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने बताइएको छ । साथै विज्ञप्तिमा सेनाको विकास प्रतिको चाहना र शान्तिसुरक्षा कायम गर्ने प्रतिबद्धतालाई कम नआँक्न सचेत गराइएको छ ।
भारतले उक्त स्थानमा चीनले भनेजस्तो सैनिक सुदृढीकरण नगरेको दाबी गरेको छ । विदेशमन्त्री सुषमा स्वराजले सन् २०१२ मा भएको सीमासम्बन्धी समझदारीअनुसार संवाद गर्नुपर्ने बताइन् । उनले दुई देशबीच सुमधुर सम्बन्ध विकास गर्न सीमाक्षेत्रमा शान्ति आवश्यक रहेको धारणा राखिन् ।
स्वराजले भनिन्, ‘हामीले चिनियाँ पक्षसँग कूटनीतिक माध्यमबाट वार्ता गरी सर्वस्वीकार्य समाधान निकाल्न तयार छौं ।’ भारत, चीन र भुटानको सीमाक्षेत्र डोक्लाममा दुई देशबीच ३० वर्षदेखि विवाद हुँदै आएको छ । गत जुन महिनामा चीनले सडक निर्माण सुरु गरेसँगै यो क्षेत्रमा पछिल्लोपटक तनाव बढेको हो । भारतले भुटानको आग्रहमा उक्त क्षेत्रमा सेना पठाएको दाबी गर्दै आएको छ । उसले सीमाक्षेत्रमा सडक निर्माणले सुरक्षा समस्या उत्पन्न हुने बताउँदै आएको छ ।

No comments:
Post a Comment