ad1

Friday, August 25, 2017

आजदेखि इम्बोस्ड नम्बर दर्ता


भाद्र ९, २०७४- यातायात व्यवस्था विभागले शुक्रबारदेखि मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको ‘हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट’ को दर्ता सुरु गर्ने भएको छ । विभागका अनुसार पहिलो चरणमा वाग्मती अञ्चलमा दर्ता रहेका सवारी साधनमा यो नम्बर प्लेट प्रयोग गरिनेछ । 

विभागले पहिलो चरणमा सरकारी, संस्थान, समिति र निजी तीन र चार पांग्रे साना सवारी, मझौला र ठूला सवारी साधनधनीलाई आफ्नो सवारीमा नयाँ प्रविधिको नम्बर प्लेट जडान गर्न आह्वान गरेको छ ।

 विभागका महानिर्देशक रूपनारायण भट्टराईले इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्ने सवारीधनीले आफ्नो सवारी साधनको हालसम्मको राजस्व तिर्नुपर्ने बताए । ‘त्यसपछि यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, वाग्मती एकान्तकुनामा रहेको वाणिज्य बैंकमा रकम जम्मा गर्नुपर्छ,’ उनले भने, ‘यस सम्बन्धमा विभागको वेबसाइटमा गएर ‘इम्बोस्ड नम्बर प्लेट अनलाइन’ फारममा सीधै आफ्नो विवरण भरेर निवेदन दिन सकिन्छ ।’

उनले अनलाइनमा सवारीको विवरण भर्दा बैंक भौचर नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने बताए । ‘राजस्व रकम फरफारक नगरी इम्बोस्ड नम्बरका लागि मात्र रकम जम्मा गर्न पाइने छैन,’ उनले भने, ‘राजस्व रकमसमेत जम्मा गरे मात्र इम्बोस्ड नम्बर प्लेट पाइनेछ ।’ इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न, चोरी गाडी दर्ता गर्न, निजी, सरकारी, कूटनीतिकलगायतका सवारी साधनका धनी र साधनको विवरण तथा राजस्व असुलीको अवस्थाबारे बुझन सहज हुनेछ । साथै कुन सवारी साधन कुन नाकाबाट उपत्यका बाहिर कतिपटक आवतजावत गर्‍यो भन्ने कुरा पनि सजिलै पत्ता लगाउन सकिने जानकारी विभागले दिएको छ ।

राष्ट्रपतिको सवारीमा नेपाली झन्डा, झन्डामुनि माथिबाट हल्का निलो रङ हुँदै तल गाढा निलो रङ, ‘एनईपी’ अक्षर र अक्षरमुनि लालीगुराँससहित नेपालको निसान छाप भएको नम्बर प्लेट हुनेछ । सार्वजनिक सवारी (व्यावसायिक प्रयोजन) मा पहेंलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो, सरकारीमा सेतो प्लेटमा रातो, कूटनीतिको सवारीमा सेतो प्लेटमा निलो अक्षरले लेखिनेछ । नयाँ प्रविधिको नम्बर प्लेट लिन मोटरसाइकलका लागि २ हजार ५ सय, ३ पांग्रे सवारीका लागि २ हजार ९ सय, चार पांग्रेका लागि ३ हजार २ सय र ठूला सवारीका लागि ३ हजार ६ सय रुपैयाँ शुल्क लाग्नेछ । 

No comments:

Post a Comment