यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गाईजात्रा ठमेलबाट सुरु भएर असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेर टुंगिन्छ । र्याली र झाँकीसहितको उक्त गाईजात्रा धेरैका लागि आकर्षणको केन्द्र बन्ने गरेको छ । सोसाइटीले आफ्नो गाईजात्रामा सहभागी हुन विभिन्न देशका राजदूत, प्रमुख राजनैतिक दलका नेता, सेलिब्रेटी, मानव अधिकारकर्मी, ब्लू डायमन्ड सोसाइटीका समर्थक तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूलाई समेत निम्ता दिँदै आएको छ ।
ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ सुरुवातदेखि नै गाईजात्रामा सहभागी हुँदै आएकी छिन् । हामीले ठमेलबाट यो कार्यक्रम सुरु गरेका हौं । त्यतिबेला हाम्रो मनमा अलि–अलि डर पनि थियो । पिंकीले पहिलो गाईजात्राको सम्झना गरिन्, त्यो हाम्रो अस्तित्वको लडाइँ थियो । अरुले साथ दिन्छन् कि दिँदैनन् भन्ने थियो । मनमा थुप्रै प्रश्न उब्जिएका थिए । ब्लू डायमन्ड सोसाइटीमा आबद्ध सबै जना खुलेर बाहिर आइसकेका पनि थिएनन् । त्यसमाथि गाईजात्रा मनाउनेहरूको संख्या सानो थियो । कसैको विरोध पो आउने हो कि ? कसैले बहिष्कार पो गर्ने हुन् कि ? स्थानीय समुदायले विरोध गर्ने हो कि ? आममानिसले यो घटनालाई कसरी लेलान् ? पहिलो गाईजात्रा कार्यक्रम आयोजना गर्दा सोसाइटीका सदस्यहरूको मनमा यस्तै अनेकौं प्रश्न थिए ।
यद्यपि तमाम आशंकाविपरीत पहिलो गाईजात्राले सकारात्मक छाप छोड्यो । सबैले साथ दिए, समर्थन गरे । ब्लू डायमन्ड सोसाइटीले आयोजना गर्ने गाईजात्रा सबैले रमाइलो मानेर हेरे । वसन्तपुर र ठमेल क्षेत्रमा र्याली हेर्न थुप्रै मानिस जम्मा भए । जनमानसमा यसले सकारात्मक प्रभाव पारेको छ । सोसाइटीको यो गाईजात्रा कार्यक्रमले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको जनजीवन सामान्य बनाउन मद्दत गरेको छ । आफूहरूले आयोजना गर्ने यो चाड स्वतन्त्रताको प्रतीक भएको पिंकीको तर्क छ । यसमा हामी आफैंलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्छौं । पिंकी भन्छिन्– समाजका नकारात्मक कुरालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिन्छ । हाम्रो प्रदर्शनमा सिर्जनात्मक कला–कौशल, सांस्कृतिक पहिरन आदि झल्काइएको हुन्छ । हरेक वर्षको गाइजात्रा कुनै न कुनै विषयवस्तुमा केन्द्रित हुन्छ । गत वर्षको गाईजात्रा भुइँचालो र पर्यटन प्रवद्र्धन शीर्षकमा आयोजना गरिएको थियो भने यो वर्षको थिम पारिवारिक स्वीकार्यता छ ।
यो गाईजात्रे कार्यक्रममा गएको वर्ष ज–जसले मृत्युवरण गरे उनीहरूको नाममा दिप प्रज्वलन गरिन्छ । सकारात्मक सन्देश दिन दैवीप्रकोप, भूकम्प, दुर्घटना वा अन्य कारणले ज्यान गुमाउनेहरू सबैको नाममा उक्त कार्यक्रम समर्पित हुन्छ । देशभित्रका विकृति–विसंगतिलाई कम गर्दै तेस्रोलिंगीहरूको अस्तित्व र पहिचानलाई सांस्कृतिक रूपमा स्वीकार्य बनाउन तथा उनीहरूलाई अधिकार दिलाउन लैंगिक अल्पसंख्यकहरूको गाईजात्रे कार्यक्रम आयोजित गरिन्छ । यसपटक सञ्चालन हुने गाईजात्रा कार्यक्रमको नारा पारिवारिक स्वीकार्यता भएकाले अहिले ब्लू डायमन्ड सोसाइटीका सदस्यहरू सबैभन्दा पहिले आफ्नै घर–परिवारले यथार्थतालाई स्वीकार गर्नुपर्छ भन्ने कुरामा जोड दिइरहेका छन् । उचित शिक्षा–दीक्षा प्रदान गर्ने हो भने हामी आफैं सक्षम हुन सक्छौं भन्ने उनीहरूको मान्यता छ । शिक्षाको कमीले हामीलाई बेरोजगार बनायो, घरबारविहीन बनायो । यो समस्या निर्मूल पार्दै सामाजिक, मानसिक, आर्थिक एवं बौद्धिक रूपमा अघि बढ्न पारिवारिक स्वीकार्यता आवश्यक हुन्छ भन्ने उनीहरूको ठम्याइ छ । आफ्नो अधिकार प्राप्तिको यो लडाइँमा परिवारको सहयोग आवश्यक हुन्छ, अन्यथा हौसला मिल्दैन, आँट आउँदैन ।’ तेस्रोलिंगी भूमिका श्रेष्ठ भन्छिन् ।
संविधानको धारा १२, १८ र ४२ ले पहिचान एवं समानताको हक तथा सामाजिक न्यायलाई सम्बोधन गरेको छ । सरकारले यसको कार्यान्वयन गर्नुपर्ने ब्लू डायमन्ड सोसाइटीमा आबद्ध सदस्यहरूले जोड दिँदै आएका छन् । परिवारको सहयोगबिना अधिकार प्राप्त नहुने उनीहरूको तर्क छ । त्यसका लागि महत्वपूर्ण भूमिका परिवारकै रहन्छ, सोसाइटीकी अध्यक्ष पिंकी भन्छिन्— हामीलाई नागरिकता प्राप्त गर्नसम्म गार्हो छ, त्यसैले अहिले हाम्रो अभ्यास र प्रयास लैंगिक अल्पसंख्यकहरूलाई परिवारबाटै भेदभाव हुनु भएन भन्ने कुरामा केन्द्रित छ ।

No comments:
Post a Comment