बाढीपीडितहरु भत्किएको घरबाट सामान झिक्दैछन् । भिजेका अन्नपात र कपडा सुकाउँदैछन् । पुलमा क्षति पुगेर अबरुद्ध सडक सुचारु भएको छ । स्कूले किशोरकिशोरीहरु कापीकिताब स्याहार्दैछन् । गाउँपालिका कार्यालयमा राहत सामाग्रीहरु संकलन भइरहेको छ । भर्खरै निर्वाचित गाउँपालिकाका जनप्रतिनिधीहरुलाई पीडितको लगत संकलन गर्न र राहत वितरणलाई व्यवस्थित गर्न हम्मे–हम्मे भइरहेको छ ।
साउन २८ गते बिहान १ बजे राप्ती उर्लिएर एक्कासी गाउँ छिर्दा रामपति चौधरीको परिवार मस्त निद्रामा थियो । भेल सुतेको खटियासम्मै पुग्यो । उठेर बाहिर निस्कदा कम्मर–कम्मर पानी थियो । छोराछोरी उठाएर अग्लो ठाउँतिर भाग्दासम्म पानी छातीसम्म पुगेको उनी बताउँछिन् । ‘हामी निस्कनु र घर भत्किनु एकैपटक भयो,’ उनले भनिन् ।
बाढी पसेपछि राप्तीसोनारीका सबैजसो राप्तीतटीय बस्तीहरु जलमग्न भए । झण्डै आठ सय घर भत्किएका छन् भने सयौ परिवार बिस्थापित छन् । एक्कासी बाढी पसेका अन्नपात र लत्ताकपडा केही जोगाउन नसकेको स्थानीय बताउँछन् ।
बैजापुर लगायतका राप्ती तटीय क्षेत्रका बासिन्दाले ०३६ सालपछि यस्तो बाढीको पहिलोपल्ट सामना गर्नुपरेको बताएका छन् । त्यो बेला पानी नै धेरै आएको थियो । तर, यसपटक सिक्टा सिंचाई आयोजनाले समयमै बाँधको ढोका नखोलेकाले एक्कासी खोल्दा धेरै क्षति भएको उनीहरुको आरोप छ । स्थानीय बुद्धि थारुका अनुसार, सिक्टाका १८ ढोकामध्ये ४ वटा मात्र खुल्ला थिए । राप्तीको बाढीले अघैया बजारै डुब्ने स्थिति आएपछि स्थानीयले सिक्टा कार्यालय घेरे । सुतेका प्राविधिक उठेर एकैपटक सबै ढोका खोलेपछि ठूलो बेगमा बाढी गाउँ पस्यो ।

No comments:
Post a Comment