ad1

Thursday, August 24, 2017

नेपालले संविधान संशोधन गर्नुपर्छ भन्ने भारतीय पोजिसन बदलिएको छैन : भारतीय विदेश सचिव


भाद्र ८, २०७४- मधेस केन्द्रित दलहरुको माग र संविधानको संशोधनको विषयमा आफ्नो पोजिसन निरन्तर एउटै र स्पष्ट रहेको भारतीय विदेश सचिव एस जयशंकरले बताएका छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमणको विषयमा जानकारी दिनको लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा जयशंकरले भने ,‘समाजका सबै तह र तप्कालाई समेटेर अगाडी बढ्ने प्रयासलाई नेपालले जारी राख्नुपर्छ भन्ने हाम्रो पोजिसन हो ।’ 

उनले प्रधानमन्त्री देउवाले संविधान संशोधन र मधेस केन्द्रित दलहरुको मागको बारेमा आफ्ना धारणहरु सेयर गरेको समेत बताए । उनले संविधान कार्यान्वयनमा बृहत सहभागिता भएमा त्यसले स्थिरता, एकता र नेपालको समृद्धिमा सहयोग पुर्‍याउने बताए ।

भारत र चीनको दोक्लममा बढेको द्वन्द्वको बिषयमा देउवाको भ्रमणको विषयमा कुनै पनि कुराकानी नभएको उनले दाबी गरे । ‘हिजो र आज भएका दुवै भेटमा यस विषयमा कुनै पनि कुराकानी भएन,’ उनले भने । कालापानीको विषयमा पनि कुराकानी भयो भनी सोधिएको प्रश्नको उनले उत्तर नै दिएनन् ।

लामो समयदेखि सार्कको आसन्न शिखर सम्मेलन अनिश्चित छ । सार्कको अध्यक्ष भएको नाताले नेपालले यो विषय राख्ने अपेक्षा गरिएको थियो तर सार्क सम्मेलनको बारेमा कुनै पनि कुराकानी नभएको उनले बताए । पत्रकार सम्मेलनको आफ्नो भाषणमा भने प्रधानमन्त्री देउवाले सार्कको उल्लेख गरेका थिए ।

भारतीय विदेश सचिवले नेपालको तराई र बिहारमा गएको बाढीको वारेमा समेत छलफल भएको बताए । उनले यसलाई नियन्त्रण गर्नको लागि समन्वय गर्ने, संयुक्त अनुगमन गर्ने र दीर्घकालिन समाधानको वारेमा छलफल भएको बताए । उनले बाढीबाट नेपाल र बिहार दुवै पीडित भएको बताए । 

सुरक्षा र डिफेन्सको विषयमा समेत दुईपक्षीय भेटघाटमा बिस्तृतमा छलफल भएको उनले बताए । ‘खुला सिमानाको दुरुपयोग हुनेसक्ने भएकाले थप कदम चाल्नुपर्छ र सर्तकता अपनाउनुपर्छ भन्ने विषयमा कुराकानी भयो’, उनले भने । 

खुला सिमानाले अर्काे पक्षको सुरक्षामा असर नगरोस भन्ने विषयमा कुराकानी भएको भारतीय सचिव जयशंकरले बताए । 

जयशंकरले नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धि तथा तालिम प्रदान गर्ने विषयमा समेत भारतले जोड दिएको बताए ।


No comments:

Post a Comment